युवा कामदारहरू: रोजगारदाताहरूका लागि जानकारी

असल नेतृत्वले युवा कामदारहरूलाई बिमारी र चोटपटकबाट जोगाउन मद्दत गर्छ।

Shape

युवा कामदारहरूमा लगानी गर्नुहोस्

युवा कामदारहरूको रोजगारीका लागि व्यापारिक मामला स्पष्ट छ। युवा कामदारहरूले भिक्टोरियाका कार्यस्थलहरूमा विभिन्न अल्पकालीन र दीर्घकालीन लाभहरू ल्याउँदछन्। जस्तै:

  • नवीनता र रचनात्मकता
  • नयाँ सीप तथा आशा
  • सीपको अभाव विरूद्ध भविष्यमा प्रतिभा विकास र संरक्षण

असल नेतृत्वले युवा कामदारहरूको संरक्षण गर्न मद्दत गर्दछ

जब कर्मचारीलाई थाहा हुन्छ कि स्वास्थ्य र सुरक्षा नेतृत्वमा रहेका व्यक्तिहरूले महत्वपूर्ण ठान्छन्, तिनीहरू सुरक्षा प्रक्रियाहरू पालना गर्न र सुरक्षा मामलाहरू उठाउन प्रेरित हुने बढी सम्भावना हुन्छ।

रोजगारदाता, प्रबन्धक, सुपरीवेक्षक, एचएसआर (HSR) र अधिक वरिष्ठ कामदारहरूले युवा कामदारहरुको प्रवेशज्ञान र प्रशिक्षण गर्दा उनीहरुलाई स्वस्थ र सुरक्षित कार्यस्थल (OHS) को अनुभूति दिनु  महत्वपूर्ण हुन्छ। युवा कामदारहरूले कार्यस्थलको स्वास्थ्य र सुरक्षा संस्कृतिलाई नेतृत्वले राम्रोसँग बुझोस् भन्ने अपेक्षा राख्दछ।

युवा कामदारहरूको लागि उदाहरण प्रस्तुत गरेर, OHS मामिलाहरूको बारेमा नियमित खुला कुराकानी गरेर र असुरक्षित कामको रिपोर्ट गर्ने माध्यम प्रबर्द्धन गरेर तपाईंले युवा कामदारहरूलाई कार्यस्थल सम्बन्धित चोट र बिमारीबाट बचाउन सक्नुहुन्छ।

युवा कामदारहरूलाई सुरक्षित राख्नुहोस्

भिक्टोरियाको स्वास्थ्य र सुरक्षा कानूनअन्तर्गत, तपाईंले व्यावहारिक रूपम सकभर आफ्नो कर्मचारीहरूको लागि स्वास्थ्य सुरक्षित हुने र जोखिममुक्त काम गर्ने वातावरण प्रदान र कायम गर्नुपर्दछ। यसको एक अंशको रूपमा, तपाईंसँग निम्नलगायत विभिन्न जिम्मेवारीहरू हुन्छ, जुन युवा कामदारहरूलाई चोटपटक लाग्ने जोखिम कम गर्न आवश्यक हुन्छ:

  • उनीहरूको कामलाई सुरक्षित रूपमा गर्न सक्षम बनाउन आवश्यक जानकारी, निर्देशन, प्रशिक्षण र सुपरीवेक्षण कामदारहरूलाई प्रदान गर्ने
  • जहाँसम्म यथोचित व्यावहारिक रहन्छ, सुरक्षित मेसिनरी र उपकरणजन्य र कार्य प्रणाली राख्ने र कायम गर्ने
  • जहाँसम्म व्यावहारिक हुन्छ, कार्यस्थललाई मर्मतसम्भार गर्ने जसले गर्दा यो सुरक्षित रहन्छ र स्वास्थ्यमा कुनै हानी हुँदैन

यी कर्तव्यहरूको पालनाको उद्देश्यले, 'कर्मचारीहरू'को परिभाषामा ठेकेदार, उप-ठेकेदार, ठेकेदारका कर्मचारीहरू र श्रम भाडामा लिइएका कर्मचारीहरू सामवेश छन्। कर्मचारीहरू ती हुन् जोसँग रोजगारी वा प्रशिक्षणको लागि सम्झौता गरिन्छन्। स्वयंसेवकहरूले प्रत्यक्षरुपमा खर्च प्राप्त गर्छन् भने पनि तिनीहरूलाई कर्मचारीहरू मानिदैन।

जहाँसम्म व्यावहारिक हुन्छ, रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूबाहेक अन्य व्यक्तिहरूलाई रोजगारदाताको गतिबिधिबाट उत्पन्न हुने स्वास्थ्य वा सुरक्षा जोखिममा नरहने सुनिश्चित गर्नुपर्दछ।

तपाईंले आफ्नो कानुनी कर्तव्य पूरा गर्न र युवा श्रमिकहरुलाई सुरक्षित राख्न पालना गर्न सक्नुहुने केही विशिष्ट कदमहरू यस्ता छन्ः

जानकारी प्रदान गर्नुहोस्

निश्चित गर्नुहोस् कि युवा कामदारहरूले उचित प्रवेश-प्रशिक्षण पाउनेछन्। युवा कामदारहरूको लागि स्वास्थ्य र सुरक्षा प्रवेश-प्रशिक्षणका मुख्य अंशहरूमा निम्न कुराहरू समावेश गर्नुपर्दछ:

  • असुरक्षित कामको पहिचान र रिपोर्ट गर्ने प्रक्रिया सहितको OHS को परिचय
  • कार्यस्थलमा रहेको जोखिम र जोखिम नियन्त्रणका उपायहरू
  • OHS नीति र प्रक्रियाहरू
  • प्राथमिक उपचार र आपतकालिन सेवा
  • स्वास्थ्य र सुरक्षा प्रतिनिधिहरू (HSR) सहित भ्रमण र परिचयहरु

निर्देशन र प्रशिक्षण प्रदान गर्नुहोस्

निश्चित गर्नुहोस् कि कामदारहरूले कसरी आफ्नो काम सुरक्षितरूपमा कार्यान्वयन गर्ने भन्ने बुझेका छन्। युवा कामदारहरूलाई कार्य-विशेष निर्देशन र प्रशिक्षण गर्दा 'मलाई बताउनुहोस्, मलाई देखाउनुहोस्, मलाई हेर्नुहोस्' दृष्टिकोण प्रयोग गर्नुहोस्। यस दृष्टिकोणका तीन चरणहरू छन्:

  1. मलाई बताउनुस् - युवा कामदारलाई कार्यको स्पष्ट र विस्तृत विवरण प्रदान गर्नुहोस्, मुख्य तत्वहरूलाई हाइलाइट गर्नुहोस् र कागजाती प्रक्रियाको रूपरेखा दिनुहोस्।
  2. मलाई देखाउनुस् - कार्य प्रदर्शन गरेर देखानुहोस्- जब युवा कार्यकर्ताले तपाईंलाई अवलोकन गर्छन्, मुख्य तत्वहरू बुझाउनुहोस् र युवा श्रमिकलाई उनीहरूको बुझाइलाई जाँच गर्ने प्रश्नहरू सोध्नुहोस्।
  3. मलाई हेर्नुस् - काम गरिरहेका युवा कामदारको

व्यक्तिगत सुरक्षा उपकरण (PPE) प्रदान गर्नुहोस्

युवा कामदारहरूलाई आवश्यक उपकरणहरू प्रदान गर्नुहोस् र उनीहरूलाई कुनै पनि सुरक्षा पोशाक कसरी लगाउने/कसरी प्रयोग गर्ने देखाउनुहोस्। युवा कामदारहरूले PPE किन महत्त्वपूर्ण हुन्छ र यसले कसरी कामसँग सम्बन्धित चोट र बिमारीहरूलाई रोक्न सक्छ भनेर बुझेको सुनिश्चित गर्नुहोस्।

सुपरीवेक्षण गर्नुहोस्

अनुसन्धानले देखाउँदछ कि सुपरीवेक्षकहरू (सुपरभाइजर) र उनीहरूका युवा कामदारहरू बीचको गुणस्तरीय सम्बन्धहरूले कार्यस्थलमा हुने चोटपटकको जोखिमलाई कम गर्दछ। अक्सर युवा कामदारहरू उनीहरुले स्वास्थ्य र सुरक्षा मुद्दाहरू उठाएको खण्डमा सिफ्टहरु वा आफ्नो जागिर गुमाउन सक्छन् भनेर चिन्तित हुन्छन्। सकारात्मक कार्यगत सम्बन्धको नमूना प्रदर्शन गरेर, रचनात्मक प्रतिक्रिया प्रदान गर्ने र उनीहरूलाई प्रश्नहरू सोध्नको लागि प्रोत्साहित गर्दा युवा कामदारहरू बोल्न अगाडि आउछन्।

परामर्श

एक रोजगारदाताको रूपमा तपाईं सबै कर्मचारीहरूसँग स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी बाँड्न जिम्मेवार हुनुहुन्छ। स्वास्थ्य र सुरक्षासम्बन्धी मामिलाहरू, जस्तै कार्यस्थलको खतराहरू र नियन्त्रणका उपायहरूबारे युवा कामदारहरुलाई परामर्शमा समावेश गर्नुहोस् र उनीहरूलाई परामर्श प्रक्रियामा सक्रियरूपमा भाग लिन प्रोत्साहित गर्नुहोस्। स्वास्थ्य र सुरक्षा प्रतिनिधिहरू (HSR) कार्यस्थलमा स्वास्थ्य र सुरक्षा संस्कृतिको एक भागको रूपमा समावेश गरिएको सुनिश्चित गर्नुहोस्।

तपाईंसँग केही प्रश्न छन् र हामीसँग कुरा गर्न चाहनुहुन्छ?

तपाईं 131 450 मा अनुवाद तथा दोभाषे सेवा (Translator Interpreter Service) लाई फोन गर्न सक्नुहुन्छ र एक दोभाषेसँग जोडिन सक्नुहुन्छ जसले तपाईंलाई कार्यसुरक्षा भिक्टोरिया (WorkSafe Victoria) को हाम्रो कल सेन्टरसँगको कुराकानी गर्न मद्दत गर्नेछ।

WorkSafe Victoria ले तपाईंलाई कार्यस्थलको स्वास्थ्य र सुरक्षासम्बन्धी सबै विषयहरूमा मद्दत पुर्याउन सक्छ, जस्तै शारीरिक वा मानसिक चोटहरू। हाम्रो परामर्श सेवा बिहान ७:३० बजे - साँझ ६:३० बजेसम्म, सोमबारदेखि शुक्रबार, फोन नम्बर 1800 136 089 मार्फत उपलब्ध छ।